Blogs

  1. Home
  2. Blogs
image description

आदरणीय संचारकर्मी मित्रहरू,

नेपाली संगीतका मूर्धन्य साधक श्री रन्जित गजमेरको आत्मसंस्मरणात्मक पुस्तक वी रिड वाट केही महिना भित्रै प्रकाशन
हुन गइरहेको तथ्य यहाँहरू सामु उद्घोष गर्न पाउदा हामी हर्ष एवं गर्वको अनुभूति गर्दछौं। नेपाली सुगम एवं चलचित्र
संगीतका यशस्वी स्रष्टा श्री गजमेरको पुस्तक दुई मूलभूत कारणले आधुनिक नेपाली संगीतका निम्ति एउटा कोशेढुङ्गा
हुनेछ भन्ने कुरामा हाम्रो दृढ विश्वास छ। पहिलो, श्री गजमेर तीन स्थान दार्जिलिङ, काठमाडौं र बम्बईका स्वर्णिम युगका
संभवत: एक मात्र द्रष्टा एवं सर्जक हुनुहुन्छ। सन् १९६० को दशकमा दार्जिलिङबाट शुरू भएको उहाँको सांगितिक यात्रा
अनेकौं मानक र इतिहास रच्दै काठमाडौं हुँदै बम्बईसम्म पुगेको छ। दोस्रो चाहिँ, नेपाली संगीत क्षेत्रका शिखर
व्यक्तित्वहरू अम्बर गुरूङ, गोपाल योञ्जन, नारायण गोपाल, शरण प्रधान, जितेन्द्र वर्देवा, तारादेवी, अरूणा लामा
आदिका समकालीन उहाँ आफ्नै जीवनकालमा आत्मसंस्मरण प्रकाशन गर्ने एकमात्र सौभाग्यशाली स्रष्टा हुनुहुन्छ।

गोर्खा सैनिकले खुकुरीलाई विश्वमाझ चिनाए झैं नेपाली मौलिक बाजा मादललाई बलिउड र सिङ्गो विश्वासामु परिचित
गराउने श्रेय श्री गजमेरलाई जान्छ। उहाँले आफै संगीत भर्नुभएका गीतहरू हुन् वा वलिउडका चर्चित संगीत निर्देशक
राहुलदेव (आरडी) बर्मनद्वारा संगीतवध्द कान्छी रे कान्छी रे, हम दोनो दो प्रेमी, चिंगारी कोइ भड्के जस्ता सदावहार
गीतहरू नै मादलको धिन ताङ् नेपाली धुकधुकी बनेर तरङ्गित भएका छन्। दार्जिलिङमा अम्बर गुरुङ, गोपाल योञ्जन,
शरण प्रधान, जितेन्द्र वर्देवा, अरुणा लामा आदिसंगको सहकार्यदेखि काठमाडौंमा नेपाल एकेडेमी र रेडियो नेपालसंगको
सांगीतिक आवध्दता अनि बम्बईका सचिनदेव वर्मन, आरडी बर्मन, खय्याम, रवीन्द्र जैन आदिका निम्ति मादल वादन, श्री
गजमेर स्वयंमा एक जीवित इतिहास हुनुहुन्छ।

सन् ६० को दशकको अगमसिंह गिरी रचित एवं अम्बर गुरूङद्वारा संगीतवध्द नेपाली स्पन्दनको अमर गीत नौलाख तारा
उदाएमा वाद्यवादन होस् वासन् ७० को दशकमा डेनी डेङ्जोम्पाको स्वरको चीसो चीसो हावामा सन् ८० को दशकमा
आशा भोसलेको स्वरको झझल्को लिएर आएछ सावन फेरि आँखामा होस् वा सन् ९० को दशकको नारायण गोपाल र
आशा भोसलेको युगल स्वरको माया त माया हो होस् वासाधन सरगमको स्वरको डाली डाली फूल फुल्यो उहाँद्वारा
संगीतवध्द गीतहरू नेपाली जनजीब्रोमा सदा स्पन्दित अनि सुवासित छन्। लोकलयका टुङनाको धुनमा, आमाले भन्थी
धाराको पानी, के भन्ने हाम्रो समय देखि प्रणय र विरहका साउने झरीमा, तिमी नभए, टाढा नभइदेऊ कहिले अनि
महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित कुन मन्दिरमा जान्छौ यात्री उहाँद्वारा संगीतवध्द अमर सिर्जना हुन्।

यस प्रकाशोन्मुख पुस्तक लेखक एवं वृत्तचित्र निर्माता शेखर खरेलले श्री गजमेरसंगको लामो सानिध्य एवं अनुसन्धान
मार्फत तयार गर्नुभएको हो। यसैगरी, पुस्तक प्रकाशन निम्ति पत्रकार श्रीभक्त खनाल तथा तनहुँस्थित जसुदा
फाउन्डेसनका सूर्यभक्त खनालले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको छ।

साथै,छोटो समयको निमन्त्रणा स्विकार गरी उपस्थित हुनु भएकोमा संचारकर्मी मित्रहरू प्रति वी रिड हार्दिक आभार
प्रकट गर्दछ।

भवदिय,
सुनिती अमात्य
प्रमुख कार्यकारी अधिकृत
 
कथालय इन्क प्रा. लि.(वी रिड)
कुमारी कोलोनी ,थापाथली, काठमाण्डौ
फोन: ०१-४२५००७६, ४२६६४३०

Share: