अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरे ।
विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा हमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,’ उनले भने ।
रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरुको परिस्थितबारे ह्यारिसले गरेको अनुभव आफूलाई मन परेका शाहले बताइन् । आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।
शाहले प्रतीकलाई अर्को प्रश्न गरिन्, ‘यात्रामा आएका डर वा निराशालाई ह्यारिसले किन नलेखेकी होलिन्, केही छुटेजस्तो लाग्दैन ?’ प्रतीकले अरुलाई निडर बनाउन र अघि बढिरहन प्रेरित गर्न पनि यस्ता सन्दर्भलाई उल्लेख नगरेको हुन सक्ने बताए ।
‘पुस्तकको कुनै लाइन वा प्रसंग छोडेर अनुवादकले अनुवाद गर्न मिल्छ मिल्दैन ?’ भन्ने अर्को प्रश्नमा प्रतीकले भने, ‘मैलेचाहिं यसो गर्न मिल्दैन र गर्दिनँ पनि । अनुवादमा इमानदारी जरुरी छ ।’ शाहले फरक प्रसंगमा उपराष्ट्रपतिसम्म आइपुग्दाका अपार सफलता देखाइए पनि त्यसका पछाडि पुरुषहरु दृश्यमा खास नदेखिएको बताइन् । आमाको जति भूमिका बुबाको नदेखिएको उनको भनाइ थियो ।
दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले बताए । ‘अनुवाद गर्न खासै मलाई मन लाग्दैन, तर यो अनुवादले नेपाली शब्द भण्डार बढाउन मलाई धेरै सघायो,’ उनले भने, ‘वर्षौं प्रयोग भएर नेपालीकरण भइसकेका आयातित शब्दको मिठास नहराओस् भनेर कतिपय ठाउँमा तिनलाई प्रयोग गरेको छु ।’
पुस्तकको शीर्षकबारे भने प्रतीकले आफूले अनुवाद सुरु गर्दा यसबारे नसोचेको बताए । ‘अन्तिममा ४/५ वटा नामबारे सोचेको थिएँ,’ उनले भने, ‘लेखक/अनुवाद वसन्त थापासँग पनि कुरा भइरहेको थियो । अन्तिममा सत्यको जगमा उभिएर नै सही लागेर यही राखिएको हो ।’
के छ पुस्तकमा ?
एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई नजिकबाट चिनाउने पुस्तक हो यो । जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन अनि राजनीतिमा उनको प्रवेश र यसभित्रका संघर्षलाई पुस्तकले सविस्तार बयान गरेको छ ।
जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ । ह्यारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा किताबमा भेटिन्छ । र, यो संस्मरणात्मक जीवनगाथाले पाठकमा साहस भरिदिने मात्रै होइन, सत्यको मार्गमै हिँड्ने उत्साह पनि दिन्छ । ह्यारिस लेख्छिन्, ‘दोस्रो वर्षको गृष्म याममा मैले क्यालिफोर्नियाका सिनेटर एलन क्रेन्सटनकहाँ इन्टर्नसिप गर्ने मौका पाएँ । कसले थाहा पाउन सक्ने कुरा थियो र, म तीस वर्षपछि सिनेटको त्यही सिटमा चुनिनेछु .’
न्याय प्रणालीमा ह्यारिसको प्रारम्भिक अनुभवले कसरी उनको करिअरको लागि जग खडा गर्यो ? क्यालिफोर्नियाको डिस्ट्रिक्ट एटर्नीका रूपमा उनले गरेको काम कसरी भविष्यमा उनलाई सिनेटर बन्न सहायक बन्यो? उनकै प्रयासले आप्रवासी र अमेरिकी स्वास्थ्य सेवा प्रणालीको बेथितिबाट प्रभावितहरूले कसरी लाभ लिन सके?
यस्ता अनेक प्रश्नहरूको जवाफ उनले इमानदारसाथ आफ्नो संस्मरणमा लेखेकी छिन् ।
संयुक्त राज्य अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमात्रै नभई उनी पहिलो अश्वेत उपराष्ट्रपति पनि हुन् । ह्यारिसको पालनपोषण क्यालिफोर्नियाको यस्तो समुदायमा भयो जहाँ सामाजिक न्यायबारे गम्भीर चासो राखिन्थ्यो । निमुखाहरूको आवाज बन्ने कोसिस गर्दा एवं जटिल मामिलाका गाँठा फुकाउन सङ्घर्ष गर्दै जाँदा सँगालेका अनुभव नै उनलाई बाटो देखाउने दियालो बन्दै गयो र उनको व्यक्तित्वले राजनीतिक नेताका रुपमा स्पर्शी आकार पायो ।
अमेरिकी जनताले सामना गरेका विविध चुनौतीलाई ह्यारिसले सत्यको जगमा उभिएर अवलोकन गरेकी छन् । आफ्नो करिअर र आफूलाई प्रेरित गर्ने मानिसका काममार्फत कडा मेहनत र सुझबुझका साथ उनले हासिल गरेका ज्ञान र अन्तरदृष्टिलाई चित्रित गर्दै संघर्ष, उद्देश्य, जीवनमूल्यको सच्चा तस्बिरलाई उनले विश्वसमक्ष बाँडेकी छन् ।
वी रिड प्रकाशन संस्थाले प्रकाशित गरेको ‘द ट्रुथ वी होल्ड’ को नेपाली संस्करणको नाम सत्यको जगमा उभिएर’ राखिएको छ, जसको अनुवाद विप्लव प्रतीकले गरेका हुन् ।