युनेस्कोको विश्व सम्पदामा सूचीकृत छ, बौद्धनाथ । बौद्ध स्तूप पनि भनिने यो स्थल राजधानी काठमाडौंको पूर्वी भागमा पर्छ । यही बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । कथालय इन्कले प्रकाशन गरेको पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रविन्द्र मानन्धरका चित्र समावेश छन् ।
बौद्धनाथलाई नेपालभाषामा खास्ति र तिब्बती भाषामा जारुङ खाशोर भनिन्छ । पुस्तकमा दुई छुट्टाछुट्टै कथा छन् । एउटा कथामा, सहरमा अचानक हिटी सुकेपछि जनताले राजालाई विन्ती गर्छन् । ज्योतिषीहरूले बत्तीस लक्षणले युक्त मानिसको बलि दिए हिटीबाट पानी आउने सल्लाह दिन्छन् । राजाले एउटा जुक्ति निकाल्छन् । नारायणहिटीमा पिशासले बास गरेकाले मध्यराति गएर त्यसको टाउको छिनाल्न राजकुमारलाई उनी अह्राउँछन् । राजकुमारले सोहीमुताबिक सेतो कपडामा बेरिएर सुतेको पिशाचलाई एकै झमटमा तरबार प्रहार गर्छन् । अफसोस, उछिट्टिएर उनको हातमा आएको टाउको आफ्नै बुबाको हुन्छ । अब के होला ? कथाको मूल रहस्य त्यसपछि सुरु हुन्छ ।
पुस्तकको अर्को भागचहिँ महागुरु रिम्पोछे पद्मसम्भवले राजा त्रिसोन देसेनलाई सुनाएको कथा हो । यसमा हाँस पाल्ने गरिब महिला जड्झिमाले ठूलो चैत्य बनाउन गरेको योजनालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ । चैत्य निर्माण थाले पनि पूरा नहुँदै उनको मृत्यु हुन्छ । के त्यसपछि चैत्यले पूर्णता पाउला ? यस्ता अनेक रहस्यलाई कथाले बुनेको छ ।
पुस्तकका लेखक प्रधान नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष हुन् । उनी लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान, लेकन र अनुवाद कार्यमा सक्रिय छन् । बालसाहित्यका सयौं पुस्तक सम्पादन तथा अनुवाद गरेका उनी बौद्ध दर्शन र इतिहासका अध्येता पनि हुन् । उनको पहिलो रचना ‘बौद्ध दर्शन र प्रजातन्त्र’ शीर्षकमा २०३१ सालमा प्रकाशित भएको थियो । त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक रहिसकेका उनले पछिल्लो समय एतिहासिक उपन्यास ‘विडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित छन् ।
यो पुस्तक पाँच वर्ष वा त्यसभन्दा माथिका बालबालिकालाई पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न र नौ वर्षभन्दा माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त हुने प्रकाशन संस्था कथालयले जनाएको छ । ३२ पृष्ठ रहेको पुस्तकका मूल्य ३७५ रुपैयाँ राखिएको छ । कथालयले किंवदन्ती शृंखलाअन्तर्गत यो पुस्तक प्रकाशनमा ल्याएको हो । यस शृंखलाक अन्य पुस्तकहरु पनि बजारमा उपलब्ध छन् I