बालबालिकाका लागि किताब प्रकाशन गर्ने कथालयबाट तीनवटा नेपाली बालकथाका किताब प्रकाशित भएका छन।
नेपाली लेखकले नेपाली परिवेश समेटेर लेखेका बालकथा ‘मनोहरको मुरली’, ‘सफा झिँगा’ र ‘सेल्फीको रहर’ एकैसाथ प्रकाशन भएका हुन्।
बालबालिकासँग अनेक रहर, सीप र क्षमता हुन्छन्। साथीहरुसँग मिलेर नयाँ नयाँ कुरा सिक्ने कौतुहलताको कथा ‘मनोहरको मुरली’ मा लेखक नारायणश्री अधिकारीले लेखेका छन्। निकै राम्रो मुरली बजाउने मनोहरको मुरली देखेर उसकी साथी दिपालाई पनि मुरली बजाउने रहर जाग्छ। तर मुरली सिक्ने कुरामा झगडा गर्दागर्दै मनोहरको मुरली भाचिँन्छ। त्यसपछी दिपा र मनोहरले मिलेर सिक्नुपर्ने रहेछ भन्ने पाठ सिक्दै अन्त्यमा दुवैजनाले मिलेर मुरलीमा नयाँ नयाँ धुन बजाउने कुरासम्म पुगेका छन्। चित्रकार विनिता बुद्दाचार्यले बनाएका चित्रले कथाका यी घटनाक्रम झनै सहज ढंगले बुझन सघाउँछन र कथालाई अझै रोचक बनाएका छन।
तेजप्रकाश श्रेष्ठको लेखन र विजयराज शाक्यको चित्रकारिता रहेको ‘सफा झिँगा’ कथालयले सार्वजनिक गरेको दोस्रो किताब हो। यसमा बालबालिकालाई सरसफाइ र रोगबाट बच्ने उपायहरुको जानकारी कथाको माध्यमबाट दिइएको छ। यस कथाकी मुख्य पात्र भवानीको पेट दुखेपछी पेट दुख्नुका कारण पत्ता लगाएर उनले स्वस्थ रहन गर्नुपर्ने कुराहरु केके रहेछन् भनेर सिकेकी छिन भन्ने कथा समेटिएको छ। बालबालिका धुलोमाटो, किरा, फोहोर आदिसँग खेल्ने, रमाउने र नजिक हुने हुँदा उनीहरु रोगको बढी जोखिममा हुन्छन्। रोगबाट बच्न बालबालिका आफैँले के गर्न सक्छन भनेर झिँगा र भवानीको संवादबाट उनीहरुले चित्र हेर्दै रमाउँदै थाहा पाउन सक्छन् ।
कथालयले सार्वजनिक गरेको तेस्रो किताब ‘सेल्फीको रहर’ हो।
प्रविधिको यो युगमा बालबालिकाहरु सेल्फी भनेपछि हुरुक्कै हुन्छन् । मोबाइल देख्यो कि उनीहरु सेल्फीको रहर गर्दै अनेक पोज गर्न थालिहाल्छन्। तर प्रविधि बालबालिकाका लागि सुरक्षित छैन्। रमाइलोको लागि ससानो जिज्ञासा पछ्याउँदापछ्याउदै बालबालिका कसरी प्रविधिको सिकार हुन सक्छन्। यस्तै कथा समेटिएको ‘सेल्फीको रहर’ कथामा लेखक रामदेव पाण्डेले मुसा र बिरालोलाई मानवीकरण गर्दै बालबालिकालाई सचेत गराउन खोजेका छन् । यसमा सेल्फीको रहर गर्दागर्दै सानो मुसा कसरी धुर्त बिरालोको फन्दामा पर्छ भन्ने कथा छ। चित्रकार ध्रुव प्रजापतिले बनाएका चित्रले कथाक्रमलाई रमाइलोसँग बुझ्न सहयोग पुर्याउछन।
आफ्नै वरपरका जस्ता लाग्ने यी कथा पढेर कथासम्बन्धी नै चित्र कोर्दा बालबालिकालाई कथाबोध र कथासँग अप्नत्व महसुस हुन सकोस् भन्ने उद्देश्यले यी तिनै किताबको अन्तिम पृष्ठमा चित्र बनाउने कार्य दिइएको छ। ‘मनोहरको मुरली’ र ‘सफा झिँगा’ २ वर्ष वा माथिका बालबालिकालाई अभिभावकले पढेर सुनाउन सक्छन भने ६ वर्ष माथिका बालबालिकाले आफैँ अध्ययन गर्न सक्छन्। त्यस्तै ‘सेल्फीको रहर’ ५ देखि ८ वर्ष वा माथिका बालबालिकालाई लक्षित किताब हो।