किसान तुइकाजी दाइचाको ९÷१० वर्षको छोरा सानुकाजी एकदमै जिज्ञासु छन्। तुइकाजी जीवजन्तुबाट धान जोगाउन खेतको बीचमा बुँख्याःचा राख्छन्। मान्छेजस्तै देखिने सानुकाजीकै लुगा लगाएको बुँख्याःचा देख्दा सानुकाजीलाई सुरुमा त अचम्म लाग्छ। तर यो बुँख्याःचा मान्छेजस्तो देखिने मात्रै हैन सानुकाजीसँग मान्छेजस्तै गरी बोल्न थाल्छ। त्यसपछि सानुकाजी र बुँख्याःचाबीच मित्रता बढ्दै जान्छ। उनीहरु मिलेर गाइवस्तु र चराचुरुंगीबाट धान जोगाउने योजना बनाउँछन्। त्यसपछि कथा थप रोचक बन्छ।
यो कथा हो लेखक रत्न प्रजापतिको नयाँ बालकथा सानुकाजीको बुँख्याःचा। चित्रसहितको यो बालकथामा उपत्यकाको नेवार किसानको पारिवारिक परिवेशमा हुर्किरहेको कथा छ। राजकुमार प्रजापतिले बनाएका चित्रले कथा आकर्षक बनाएको छ।

यो किताब बालबालिकालाई आफ्नो समाज र संस्कृतिसँग घुलमिल गराउँदै कसरी सामाजिकीकरणमा समावेश गरिन्छ भन्ने उदाहरण हो। किताब कथा मार्फत बालबालिकाका लागि व्यावाहारिक सिप सिकाउँदै समाजबारे चासो जगाउनका लागि उपयोगी हुन सक्छ।
कथा पढेर बालबालिकाले प्रकृति, मानव र जीवजन्तुबीचको अन्तरसम्बन्ध पनि बुझ्न सक्नेछन्। पुस्तकको अन्त्यमा दिइएको कार्यले बालबालिकामा कथाबोध गर्दै सिकाइप्रति रुचि बढाउन मद्दत गर्न सक्छ।
सानुकाजीको बु्ँख्याःचा बालबालिकालाई लक्षित गरी किताब प्रकाशित गर्दै आएको कथालयले बजारमा ल्याएको हो।
यो चित्र किताब ३ देखि ७ वर्ष उमेर समूहका बालबालिका लक्षित छ। ३२ पृष्ठको किताबको मूल्य २२५ रुपैयाँ छ।