काठमान्डौ ; बेल्जियमका लेखक गाइडो भान जेनेचनद्वारा लिखित विश्वो प्रख्यात बालपुस्तक रिकी शृङ्खला अन्तर्गतको पहिलो पुस्तक ‘रिकी’को नेपाली संस्करणको सर्वाधिकार कथालय इन्कले लिएको छ । कथालय इन्ककी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले रिकीको पहिलो पुस्तक चाँडै प्रकाशनमा आउने जानकारिक समेत दिइन् ।
‘रिकी’ शृङ्खलाका अन्य तीन पुस्तक पहिले नै कथालयबाट प्रकाशित भइसकेका छन् I यो शृङ्खलाका पुस्तकहरू विभिन्न भाषामा गरी ४० भन्दा बढी देशमा प्रकाशित भइसकेका छन् I
रिकी खरायो अन्य खरायाहरूभन्दा भिन्न छ । उसको दाहिने कान झुकेको छ, अनि देब्रे कान ठाडो । त्यसैले अन्य खरायाहरूले उसलाई जिस्क्याईरहन्छन् । उसले सबै प्रकारका रचनात्मक कोसिस गरी झुकेको कान ठाडो पार्ने प्रयास गर्छ I खरायो समूहमा घुलमिल हुनका लागि उसको सबै उपायहरू अपनाउछ । यसैको सेरोफेरोमा कथा बुनिएको छ I
लेखक गाइडो भान जेनेचनको जन्म मोल, बेल्जियममा भएको थियो I त्यहाँ उनले मोलको ललितकला एकेडेमीमा रेखाचित्र, चित्रकला, ग्राफिक्स र फोटोग्राफीको अध्ययन गरे । बाल पुस्तकहरूको लेखक/चित्रकार बन्नु अघि जेनेचनले ग्राफिक डिजाइनिङको काम गर्थे । उनले सर्वाधिक बिक्री हुने अन्य पुस्तकहरू पनि सिर्जना गरेका छन् र धेरै पुरस्कारहरू पनि प्राप्त गरेका छन् ।
सन् १९९८ मा उनले आफ्नो पुस्तक ‘रिकी’ बाट ह्यासल्ट शहरको अन्तर्राष्ट्रिय चित्रकार पुरस्कार जितेका थिए । यो पुरस्कार उनको अन्तर्राष्ट्रिय लेखन करियरको सुरुवात थियो ।