Blogs

  1. Home
  2. Blogs
image description

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् ।

सानोपंखी चरा सपनाका व्यापारी आउने कुराबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्यसपछि उनीहरू अघि बढ्छन् । एकाएक आकाशमा रंगीबिरंगी चराहरू देखा पर्छन्, ती बिस्तारै कागहरूको देशमा आइपुग्छन्। बहुमूल्य सामान लिएर आएका ती सपनाका व्यापारीले सबैलाई आफ्नो रुचिअनुसारको सामान बेचेर फर्कन्छन् । ठूलाठूला सपना बोकेर हिँड्ने सानोपंखीको रोजाइमा कुन सामान प¥यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ? यसमा सानोपंखीको मनोदशालाई पनि प्रस्तुत गरिएको छ ।

सात वर्ष वा त्यसभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ । यसमा चराहरूको संसार प्रस्तुत गरिएकाले बालबालिकालाई कल्पनाशील बनाउन पनि सिकाउँछ ।

३० वर्षयता लेखन र प्रकाशनको क्षेत्रमा सक्रिय गिन्युसको जन्म सन् १९६८ मा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा आफ्नो प्राथमिक शिक्षा हासिल गरेकी उनले बोगाजिकी विश्वविद्यालयमा टर्किस भाषा र साहित्यको अध्ययन गरिन् । १९९२ देखि १९९४ सम्म अंग्रेजी शिक्षकको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । १९९४ मै मास्टर्स डिग्री हासिल गरेकी उनले २००१ मा डक्टरेटको उपाधि लिइन् ।

१९९४ देखि २०१२ सम्म एर्डेम पब्लिकेसनको सम्पादक रहेकी उनी पछि यसैको प्रधानसम्पादक र महाप्रबन्धकसम्म भइन् । उनको शैक्षिक अनुसन्धान विशेष रूपमा प्रकाशन र बाल साहित्यमै केन्द्रित छ । उनी त्यहाँको प्रकाशन संघको उपाध्यक्ष पनि हुन् । बालबालिकाका लागि उनका २० भन्दा बढी पुस्तक प्रकाशनमा छन् । विशेषगरी टर्कीको प्राथमिक तहका लागि उनले किताब लेखेकी छन् । पुस्तककी चित्रकार अघाईको जन्म १९९२ मा तेब्रिजमा भएको हो । तेहरान विश्वविद्यालयबाट टेक्सटाइल र फेसन विधामा स्नातक उनले चित्रकारितामा स्नातकोत्तर पूरा गरिन् । हाल उनी यिल्डिज प्राविधिक विश्वविद्यालयबाट कला र डिजाइनमा पीएचडी गरिरहेकी छन् । उनले २००८ देखि बालबालिकाका पुस्तकमा चित्र बनाउन थालेकी हुन् ।

 

Share: