अर्लिन गुरुङको अंग्रेजी कविता संग्रह ‘बुलाकी’ प्रकाशित भएको छ। बुलाकी नाकमा लगाइने सुनको गहना हो। पुरातनवादी मान्यता अनुसार ‘स्वर्ग जाने टिकट’ मानिने बुलाकीलाई अर्लिन ‘पिजंडा’को विम्ब मान्छिन्।
महिलालाई बुलाकी जस्तो गहनाको प्रलोभनले युगौंसम्म कैद गर्न खोजेको उनको तर्क छ। संग्रहमा समेटिएका छोटा कविताहरु मार्फत् उनले पितृसत्ता विरुद्ध सम्पूर्ण महिलाहरुलाई बुलाकी फ्याक्न र उत्पीडनको पिँजडा तोड्न आग्रह गरेकी छन्।
बुलाकी महिला भएकै कारण सहनुपर्ने हिंसा र उत्पीडनका उल्झनहरु फुकाउँदै सुन्दर भविष्यको कल्पना गरिएको काव्यात्मक अभिव्यक्ति हो।

संग्रहमा भएका कविताहरु दुई फरक सन्दर्भमा विभाजन गरेर अध्ययन गर्नुपर्ने खालका छन्। पहिलोमा विभिन्न पृष्ठभूमिका महिलाहरुको उत्पीडनका कथाहरुको प्रतिध्वनित आवाज भेटिन्छ।
दोस्रो सन्दर्भका कविताहरुले तीनै महिलाले आफ्नो दुःखद् वर्तमानसँग लड्ने अठोट र संकल्पलाई बुलन्द पारेका छन्। अर्लिनले छोटा पंक्तिहरुमा सम्पूर्ण महिलाका कथा समेट्दै महिला मुक्तिका लागि ऐक्यबद्धता जनाएकी छन्।
यसर्थ ‘बुलाकी’ महिलाहरुको प्रतिनिधि आवाज बोल्ने संग्रह हो। विभेदपूर्ण समाजीकिकरणमा महिलाले व्योहोर्नुपरेका हरेक खालका विभेद विरुद्ध समानताका लागि संघर्ष गर्न उत्प्रेरणा दिन्छ।
वी रिडले प्रकाशन गरेको यस पुस्तकमा उज्ज्वल राना मगरको फोटोग्राफी छ। संग्रहको कभर डिजाइन र ग्राफिक डिजाइन भने किशोर शेरचन र समन श्रेष्ठले गरेका छन्। ९२ पृष्ठको यस पुस्तकको मूल्य २५० तोकिएको छ।